लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ


काठमाडाैँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यस्तै, मुख्यमन्त्री महराले जिम्मेवारी पछि तोकिने गरी तीन जना मन्त्री थपेर सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन्। एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बनेका हुन्। तीनै जना मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ। जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरूको बीचमा लिखित सहमति भएको थियो। तर, पहिलो चरणमा नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद मन्त्रीमा नियुक्त हुन पाएनन्। मुख्यमन्त्रीले विश्वासको मत पाएपछि उनीहरुलाई पनि सरकारमा सहभागी गराउने तयारी छ।


प्रकाशित : २०८० चैत्र २५, आईतवार १५:५२ गते

ताजा समाचार