सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने तयारी, रविले राजीनामा दिनसक्ने!


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति गठनको लागि तयार भएको कांग्रेस नेताहरूले बताएका छन् । यसका लागि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पनि सहमति जनाएकाे स्राेतले बताएकाे छ।

संसदकाे बैठक ४ बजेसम्मका लागि स्थगन गरेर सहमति प्रयासमा जुटेका प्रधानमन्त्री दाहालले कांग्रेस नेतृत्वसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने र त्याे अवधिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत रहेका लामिछानेलाई गृहमन्त्रबाट राजीनामा गराउनेसम्मकाे सहमति गराउने तयारी भएको स्राेतले जनाएकाे छ।

प्रधानमन्त्रीले १५ दिनभित्र छानबिन टुंग्याउनेगरी छानबिन समिति गठन गर्नुपर्ने अडान लिँदा कांग्रेसले भने एक महिनाकाे समय लाग्ने बताएकाे छ।

लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि रास्वपाबाट कुनै एक जनालाई सो पदमा राख्नेपनि सहमति भएकाे छ। रास्वपाबाट प्रमुख सचेतक सन्ताेष परियार र उपसभापति स्वर्णिम वाग्लेमध्ये एक जना गृहमन्त्री हुनसक्ने आंकलन गरिएकाे छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै रवि गृहमन्त्री भएलगत्तै निरन्तर रूपमा संसद् अवरोध गर्दै आइरहेकाे छ।

बुधबार बिहान प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरेबीच दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा छलफल भएकाे थियाे। छलफलका क्रममा सभामुख घिमिरेले निरन्तरको अवरोधले जनस्तरमा सदनप्रति वितृष्णा फैलिएको बताएका थिए।

बुधबार बेलुका नै प्रधानमन्त्री दाहालले कांग्रेसबाट हुँदै आएको सदन अवरोध र समसामयिक राजनीतिबारे एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच छलफल गरेका थिए।

आज बिहानपनि प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच सोही विषयमा टेलिफोनमार्फत् कुराकानी भएको थियो। उक्त कुराकानीमा प्रधानमन्त्री दाहालले कांग्रे‍ससँग गृहमन्त्रीलाई सदनमा बोल्न दिनेगरी सहमतिको प्रयास भएको भन्दै प्रतिनिधिसभाको बैठक सार्न निर्देशन दिएका थिए। जसअनुरूप आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सरेको छ।


प्रकाशित : २०८१ जेष्ठ ३, बिहीबार १५:४२ गते

ताजा समाचार