काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वास गुमाएका छन् ।
शुक्रबार उनले आफूमाथि विश्वास छ भन्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । सो प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रचण्ड स्वतः पदमुक्त भएका छन् । शुक्रबार प्रचण्डले राखेको प्रस्तावको पक्षमा ६३ मत परेको छ भने विपक्षमा १९४ मत पर्यो । शुक्रबार २५८ सांसद उपस्थित थिए । एक मत कतै पनि परेन ।
प्रचण्डको प्रस्तावको पक्षमा माओवादी केन्द्र, रास्वपा र नेकपा एसले मतदान गरेका थिए भने विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपालगायतले मतदान गरेका थिए ।
प्रचण्ड सरकार १८ महिनामा ढलेकाे छ । उनी २०७९ पुस १० मा प्रधानमन्त्री बनेका थिए । एमालेकाे समर्थनमा प्रधानमन्त्री बनेका उनी एमालेकै कारण सत्ताविमुख भएका हुन् ।
अब कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री बन्नेछन् ।