काठमाडाैं । परराष्ट्रमन्त्री आरजु राणाले आफूहरूले देशका लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्न जरुरी नभएको बताएकी छिन् ।
बुधवार राहदानी र कन्सुलर विभागको अनुमगनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूले काम प्रमाणित गरेर देखाइसकेकाले स्टन्ट गर्न जरुरी नभएको स्पष्ट पारेकी हुन् ।
अहिले सरकार चलाइरहेका नेपाली कांग्रेस र नेकपा (एमाले) धेरै नै पुराना पार्टी भएकाले आफूहरू काम गर्न सक्षम रहेको परराष्ट्रमन्त्री राणाले दाबी गरिन् ।
‘सरकारमा रहेका दुई पार्टी धेरै नै पुराना छन् । यसैले हामी काम गर्न सक्छौँ । यसर्थ हामीले देशका लागि केही गर्न सक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन,’ उनले भनिन्, ‘किनभने हामीले प्रमाणित गरेर देखाइसकेका छौँ । हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन ।’
परराष्ट्रमन्त्री राणाले यो सरकार भोलि गिर्ला वा पर्सी गिर्ला भनेर चिन्ता गर्नुपर्ने अवस्था नभएकाले ढुक्क भएर काम गर्ने बताइन् ।
‘हामीलाई सरकार भोलि जाला कि पर्सी जाला भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ । दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ,’ उनले थपिन्, ‘ अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्न बनेको हो ।’