तत्कालीन नेकपा विभाजनपछि आफैँले रगत, पसिना बगाएर बनाएको पार्टी चटक्क छोडी केपी ओलीको पछि लागेका पूर्वमाओवादी नेता मणि थापा एमालेबाट आउट भएका छन् ।
केही महिनादेखि निष्क्रिय रहेका उनलाई हिजो बसेको सचिवालय बैठकले जिम्मेवारीमुक्त गरेको हो । मणि यसअघि स्थायी कमिटी सदस्य थिए । एमालेले उनको ठाउँमा एकीकृत समाजवादी छोडेर पुरानै घर फर्किएका मुकुन्द न्यौपानेलाई ल्याएको छ ।
ओलीले गरेको संसद विघटनको कदमलाई साथ दिएवापत गैरसांसद हुँदा पनि मणि मन्त्री बनेका थिए । ६ महिना खानेपानी तथा सरसफाइमन्त्री भएका बखत ‘श्री ५ को सरकार यो काम गर्न प्रतिबद्ध छ’ भन्ने भाइरल भाषणका कारण त्यसबेला चर्चामा आए । तर,पछिल्लो समय गुमनाम रहेका मणि हिजोदेखि एमालेबाट औपचारिक रुपमा बिदा भएका छन् ।
नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न हिजो मेडिकल बिचौलिया विशाल पण्डितको बसेरा होटलमा एमाले सचिवालय बैठक बसेको थियो । सो बैठकले सुवास नेम्वाङको निधनपछि रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई नियुक्त गरेको छ भने लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा उकालेको छ ।