हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो, तर देश बच्यो : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेना समायोजन गर्दा पार्टी विभाजन भएको बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको  बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा उनले सेना समायोजन र हतियार व्यवस्थापन सहज नभएका स्मरण गरे ।

“भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ, प्रत्येक क्यान्टोनमेन्टमा रक्तपात हुन पनि सक्छ । आजकै दिन, आजकै राति सेना समायोजन हुनुपर्यो, हतियार व्यवस्थापन हुनुपर्यो भनेपछि राति ११ बजेपछि यो काम सम्पन्न गरियो,” उनले सुनाए,“ बिनाकुनै जटिलता काम गरियो । एउटै मात्र क्षति मैले र मेरो पार्टीले व्यहोर्नुपर्यो । मैले सेना समायोजन, हतियार व्यवस्थापन गरेवापत पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले व्यवहोनुपर्यो, देश बच्यो ।”

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्तिपूर्ण भएको बताए । “हाम्रै माटोमा हुर्किएको, यसमा अरुको नक्कल छैन,” प्रचण्डले भने ।

शान्ति प्रक्रियाको इतिहासमा आजको दिन दूरगामी महत्वको ऐतिहासिक दिन भएको समेत उनको भनाइ छ । शान्तिप्रक्रियाले पूर्णता पाउने विश्वास गर्न सकिने पनि उनको भनाए बताए । साझा प्रयासले नै यो ठाउँमा आइपुगेको बताउँदै कार्यान्वयनमा भने जटिलता रहेको बताए ।


प्रकाशित : २०८१ श्रावण ३०, बुधबार १४:३४ गते

ताजा समाचार