रमा गिरी
(लेखक संस्थागत बिद्यालय अभिभावक संघमा आवद्ध हुनुहुन्छ ।)
सबैलाई थाहै छ, कोरोना महामारीले मानिसको जिन्दगी निकै प्रभावित बनेको छ । हामी मिति तोकेर भन्न पनि सक्दैनौं कि कोरोना आतंकबाट कहिदेखि छुटकारा पाइन्छ । यस्तो स्थितिले हाम्रा बालबालिकाको भविष्य के हुन्छ ? विद्यालय र क्याम्पसहरु कहिले खुल्लान ? हाम्रा बालबालिकाहरुले आफ्ना साथीहरुसँग भेट्न कहिले पाउँलान ? कतै उनीहरु साथिविहिन त हुँदैनन् ? यसैगरी काेठामै थुनिएर उनीहरुको बालपन त सकिँदैन ? सबैसँग प्रश्नै प्रश्नै छ । उकुसमुकुस छ । तर, जवाफ कसैसँग छैन ।
हाम्रो शिक्षा प्रणालीले त्यसै पनि किताबदेखि किताबसम्म पढाउँदै आएको छ । अक्षरहरु रटाउँदै आएको छ । अहिले त झन अनलाइनमा पढ्नु परेको छ घरमा थुनिएर । उनीहरुको पढाइप्रतिको रुची घट्दै गएको छ । अनुहारमा खुसियाली छैन । जीवनप्रति कुनै उत्साह छैन । उनीहरुले हाँस्न बिर्सेलान कि भन्ने डर पनि भइसक्यो । कहिलेकही छोराले भन्छ– ममी मेरो जिन्दगी त कोठामै थुनिएर वित्छ कि के हो ? कस्तो सकयमा जन्मिए छु है ममी म ? यो प्रश्न सबै बालबालिकाको आफ्नो अभिभावकप्रति गरिने साझा प्रश्न हो । यस्ता प्रश्नले हरेक अभिभावकको मुटुमा चसस्क गर्छ नै । यस्ता प्रश्नको जवाफ दिने कसले हो ? राज्यले जवाफ दिनुपर्ने हो कि होइन ? समाजले पनि यस्ता प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ? हरेक अभिभावकले यसको समाधान खोज्नुपर्छ कि पर्दैन ? प्रश्नै प्रश्न छन् ।
अहिले अनलाइनबाट पठनपाठन भइरहेको छ । अनलाइन शिक्षा नै यतिवेला बालबालिकाका लागि विद्यालय बनेको छ । जुम, गुगलमिट र म्यासेन्जर कक्षाकोठा बनेका छन् । हरेक घरमा, सहरका हरेकजस्तो कोठामा भच्र्युअल कक्षा चलिरहेको छ । यो आजको बाध्यता हो । अनलाइनबाट भइरहेको सिकाइ अवश्य पनि बालबालिकाका लागि प्रयप्त छैन । विद्यालय नै गएर पढेजस्तो प्रयाप्त पनि छैन तर अनलाइन शिक्षा पनि सबै बालबालिकाका लागि संभव र सहज बन्न सकेको छैन । यसलाई कसरी प्रभावकारी बनाउने ? इन्टरनेट र मोबाइल ल्याप्टपको सहज पहुँच कसरी हरेक बालबालिकासम्म पुर्योउने ? यी विषयमा भने तीनै तहका सरकार, विद्यालय, समाज र सम्पूर्ण सरोकारवाला निकाय जिम्मेवार भएर लाग्न जरुरी छ । एक छान खानाकै लागि संघर्ष गर्नुपर्ने अभिभावकले आफ्ना बालबालिकालाई अनलाइन शिक्षा कसरी दिन सक्छन् ? त्यसको विकल्पमा अन्य सहज उपाइहरुको खोजी सबै सरोकारवाला पक्षले गर्नु अनिवार्य बनेको छ ।
सबैलाई थाहै छ कि अनलाइन पठनपाठन विद्यार्थीहरुलाई किन जरुरी छ भन्ने कुरा । उनीहरु इच्छा र अवश्यकता हुँदाहुँदै पनि भौतिक उपस्थितिमा विद्यालय गएर शिक्षा आर्जन गन सक्दैनन् । किनभने कोरोनाको प्रकोप देशविदेश सबैतिर छ । हरेक व्यक्तिहरु विविधखाले कठिनाइसँग जुधिरहेका छन् । आजसम्मको रेकर्डलाई हेर्दा कोरोनाबाट मासिनले छुटकारा पाइहल्ने देखिन्न । यस्तो अवस्थामा अनलाइन शिक्षा निकै महत्वपूर्ण बन्न गएको छ । अर्थात् अहिलेको शिक्षाको मूल आधार नै यही अनलाइन हो । उनीहरुको भविष्यको उजेलो भनेकै अहिलेको लागि यही अनलाइन पठनपाठन बन्न पुगेको छ । अभिभावक नै उनीहरुको शिक्षाको मुख्य व्यवस्थापक बनेका छन् । यस्तो अवस्थामा हरेक अभिभावकले आफ्ना छोराछोरीलाई अनलाइन शिक्षाप्रति जागरुक बनाउन आवश्यक छ । ताकी उनीहरुको भोलिको भविष्य अन्धकार नहोस् । हामीले बालबालिकासँगै बसेर उनीहरुलाई अनलाइन कक्षामा सहभागी हुन हौसला दिन सकियो भने र आफै पनि उनीहरुसँ सहभागी हुन सकियो भने यो पस्थितिमा अनलाइन शिक्षा प्रभावकारी विकल्प बन्न सक्छ ।
तर अनलाइन शिक्षा विद्यार्थीका लागि बाध्यता नै हो । उनीहरुले यसबाट अक्षर पढ्न त सिक्छन् तर उनीहरुको चौतर्फि विकासमा यसले भूमिका खेल्न सक्दैन । यसका बेफाइदाबारे यहाँ केही चर्चा गर्न उपयुक्त होला भन्ने ठान्छु ।
१) पढाइको वातावरण बन्न नसक्नु
अनलाइन पठनपाठनमा विद्यार्थी र शिक्षकबीच सामञ्जस्यता स्थापित हुनै सक्दैन । उनीहरुले आफुलाई पढाउने शिक्षकलाईसमेत राम्रोसँग चिन्न सक्दैनन भने सँगै पढ्ने साथिहरुको अनुहार सस्तो छ भन्ने पनि थाहा हुँदैन । अहिले विद्यार्थी र शिक्षकबीचको आपसी सम्बन्ध ठिक ढंगले चलिरहेको नै छैन । जसले गर्दा राम्रो सिकाइको इच्छा दिनदिनै ह्रस हुँदै गइरहेको छ । विद्यार्थीको सिकाइ कलामा पन कमी आएको अनुभूती भएको छ । त्यसैले अनलाइन कक्षााबाट विद्यार्थी र शिक्षक दुबै पक्षका लागि शैक्षिक वातावरण बन्न सकिरहेकाे छैन । यसमा सबैले ध्यान दिन जरुरी छ ।
२) इन्टरनेटको गलत प्रयोग
अनलाइन पठनपाठनका लागि विद्यार्थीहरुको अभिभावक ल्यापटम, मोबइल आफ्ना बालबालिकालाई दिन बाध्य छन् । तर बालबालिकाको भने पढ्ने बहानामा अनेक प्रकारका पब्जी, फ्रिपायर, माइन्डक्रप्टजस्ता गेम खेन्नु एकप्रकारको तल बनिसकेको छ । उनीहरु अपराधजन्य सामग्रीहरु, गोप्य रुपमा अर्कोलाई पठाउने गर्न थाल्छन् । यसतो स्थितिलाई आमाबुबाले ध्यान दिनै पाउनुुहुन्न । जसको कारण विद्यार्थीको पढाइको स्तर खस्कदै गएको छ । यस्ता नकारात्मक पक्षलाई न्युनिकरण गरेर बालबालिकाको पढाइलाई सक्दो प्रभावकारी बनाउन अभिभाक नै बसैभन्दा धेरै जागरुक हुनुपर्ने देखिन्छ ।
३) विद्यार्थीलाई बुझ्न कठिन
अनलाइन शिक्षाको कारण शिक्षकले उनीहरुलाई पढाएको बुझ्न एकदमै कढिन हुन्छ । किनभने विद्यालयमा भौतिक उपस्थितिमा शिक्षा आर्जन गर्दा प्राप्त हुने मजा अनलाइन कक्षाबाट हुँदैन । विद्यालयमा शिक्षक र विद्यार्थी अमने सामने हुन्छन् । शिक्षकले पढाएको तरिका राम्ररी बुझ्छन् । त्यसैले अनलाइनबाट शिक्षा लिनु विद्यार्थीका लागि फलामको च्युरा चपाउनुजस्तै बनेको छ । आफ्ना छोराछोरीसँगै अभिभावक पनि अनलाइन कक्षामा सहभागी हुन सकेको खण्डमा यस्ता समस्याको केही हदसम्म कम गर्न सकिन्छ ।
४) इन्टरनेट हुन जरुरी
विद्यार्थीको पढाइ सुचारु रुपले अगाडि बढाउन इन्टरनेटको सुविधा हुन जरुरी छ । इन्टरनेट कमजोर भएको खण्डमा पढाइ ठिक तरिकाले हुन पाउँदैन । यस्तो अवस्थामा पढाएको कुरा बुझ्न निकै कठिन हुन्छ । यो समस्या आम विद्यार्थीले हरेक दिन भोग्नु परिरहेको छ । त्यसकारण विद्यार्थीका लागि फास्ट चल्ने नेटको सहुलियत दरमा विद्यार्थीका लागि इन्टरनेट प्याकेज ल्याउने तर्फ वर्तमान सरकारले योजना बनाएर कम गर्न आवश्यक छ ।
५) आँखा र स्वास्थ्यमा नकारात्मक असर
अनलाइन शिक्षाका कारण बालबालिकाको आँखामा र स्वास्थ्यमा धेरै नै समस्या आइरहेको छ । हरेक दिन ५ देखि ६ घण्टासम्म मोबाइलको स्क्रीनमा बस्दा त्यसबाट आउने प्रकाशले आँखा कमजोर हुने, टाउको दुख्ने, बच्चाहरु रिसाउनेजस्ता समस्या बढेको छ । त्यसैगरी दिनभरी दिक्क लाग्ने गरी शिक्षकको एकोहोरो प्रवचन सुन्दा सुन्दा बालबालिकाहरुमा खानाको अरुची बढेको पाउँछौं । अनुहारमा फुस्रोपना बढेको देखिन्छ । यसका लागि सबैले एकसाथ सुरक्षित विकल्पहरुको खोजी गर्नु आवश्यक छ । सचेतना अपनाउन आवश्यक छ ।
६) विद्यार्थीहरुलाई शिक्षाप्रतिको उत्साहमा कमी
अनलाइन पढाइले विद्यार्थीमा शिक्षा ग्रहण गर्ने उत्साहमासमेत निकै कमी आएको देखिन्छ । यस माध्यमबाट हुने पढाइमा कुन विद्यार्थी तेज छ र कुनको अवस्था कमजोर छ भनेर पहिचान गर्न शिक्षकका लागि निकै कठिन छ । त्यसकारण कमजोर विद्यार्थीको सिकाइलाई कसरी प्रभावकारी बनाउने भन्नेमा शिक्षकहरुले संयुक्त रुपमा उपायहरुको खोजी र प्रयोग गर्न ढिलाइ गर्न हुँदैन । त्यसो गरिएन भने हाम्रो शैक्षि गुणस्तर धरासायी हुनसक्छ । सरकारले थप सुविधाको व्यवस्था गरेर भएपनि अनलाइन कक्षा प्रभावकारी बनाउन शिक्षकहरुलाई पनि प्रोत्साहन गर्न आवश्यक छ ।
यस्ता थुप्रै कमजोरीका बाबजुद पनि अनलाइन शिक्षा हाम्रा बालबालिकाहरुका लागि यतिवेला बाध्यता बनेको छ । हामीसँग यसको उपयुक्त विकल्प बनेको पनि छैन । तर पनि यसका फाइदाहरु हुँदै नभएको भने होइन । अनलाइन शिक्षाले धेरै फाइदा पनि गरेको छ । फेरि बेफाइदालाई पनि फाइदामा बदल्नुको हामीसँग अर्को विकल्प पनि तत्काल छैन ।
समयकाे बचत
अनलाइन पठनपाठनमा शिक्षक र विद्यार्थीहरुको समयको बचत भएको छ । विद्यालय धाउनै पर्दैन घरैबाट कक्षा हुन्छ । जुम यतिवेला सबैभन्दा धेरै प्रयोगमा आएको कक्षा हो । भिडियोले विद्यार्थी-शिक्षक र सहपाठीबीचको दुईलाई केही मात्रामा भएपनि घटाइदिएको छ । शिक्षक र साथीहरुलाई केही मात्रामा पहिचान गर्न संभव भएको छ । शिक्षकले अलि जाँगर गर्ने हो भने र विद्यार्थीका अभिभावकले पनि अलि ध्यान दिने हो भने अनलइनमा जतिवेला पनि कक्षा दिन सकिन्छ । जतिवेला पनि गृहकार्य पठाउन सकिन्छ । कतै हिडिरहन आवश्यक नभएका कारण समयको मात्र बचत भएको छैन, खर्च कम भएको छ । सुरक्षा बढेको छ । समयको बचतले शिक्षकले चाहदाखेरी एकैदिनमा धेरै कक्षहरु संचालन गर्न संभव बनेको छ ।
प्रविधिप्रतिको जागरुकता
हामीलाई थाहै छ, वर्तमान विश्व प्रविधिमा आधारित छ । जुनसुकै ठूलो सानो वस्तु अनलाइनकरण भएको छ । यो कोरोनाकालमा शिक्षा पनि अनलानकरण भएको छ । यो अवस्थामा विद्यार्थी र शिक्षकले मात्रै नभएर अभिभावकलेसमेत अनलाइन प्रविधि सिक्न जान्न अनिवार्य बनेको छ । यो बाध्यताले हामी धेरैलाई सूचनाप्रविधिसँग साक्षात्कार हुने अवसर सिर्जना भएको छ । सबैको यतिवेला प्रविधिको प्रयोग कसरी गर्ने भन्नेबारे जागरुकता बढेको छ । यो निकै सकारात्मक पक्ष हो । विज्ञान–प्रविधिलाई आत्मसाथ नगरी हामी गरिबी र पछौटेपनबाट मुक्त हुन सक्दैनौ । बाध्यताबाट देशले पनि प्राविधिक रुपमा फड्को हानेको पाइन्छ ।
हरेक चिजको फाइदा बेफाइदा हुन्छ । बेफाइदालाई न्युनिकरण गर्दै अनलाइन शिक्षाका फाइदालाई कसरी बढावा दिन सकिन्छ भन्नेमा सरकार, विद्यालय, समाज, शिक्षक, विद्यार्थी र अभिभावक सबै सक्रिय हुनु आवश्यक छ । यतिवेला यदि अनलाइनबाट पठनपाठन संभव नभएको भए हाम्रो शिक्षा प्रणाली के हुन्थ्यो होला भनेर हामी कल्पनासम्म गर्न सक्दैनौं । यो अहिलेभन्दा निकै विकराल हुने निश्चित थियो । तर अनलाइन प्रविधिले ध्वंस्त हुने अवस्थामा पुगेको शैक्षिक क्षेत्रलाई ठूलो टेवा दिएको छ । अनलाइन शिक्षालाई जोड गरेर हाम्रा बालबालिकाको अन्धकारभित्र जाँदै गरेका शैक्षिक भविष्यलाई केही मात्रामा भए पनि प्रकाश दिने काम गरेकोमा सरकार र विद्यालयलाई धन्यवाद ।