पुरुषसँगको असुरक्षित यौन सम्पर्कले महिलामा निम्त्याउने समस्याहरु


यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या लिएर अस्पताल आउनेमा महिलाको संख्या अधिक हुन्छ । महिलाहरुमा यौनाङ्ग चिलाउने, संक्रमण हुने, सुन्निनेदेखि प्रजननका अरु समस्या देखिन्छन् । महिलाले झेल्ने यस्ता समस्याहरुमा स्वयं उनीहरुको मात्र त्रुटि हुँदैन । पुरुषको कारण पनि उनीहरु विभिन्न समस्या झेल्न बाध्य हुन्छन् ।

खासगरी पुरुषसँग हुने असुरक्षित यौन सम्बन्धले कतिपय संक्रमण हुनसक्छ । यौन सम्बन्धपछि कतिपयको अनिच्छित गर्भ रहन पुग्छ । गर्भ हुर्काउन परेमा वा गर्भपतन गर्न परेमा पनि महिलालाई सहज हुँदैन । गर्भपतनपछि कतिपय अवस्थामा उनीहरुको पाठेघरमा समस्या हुने जोखिम पनि हुन्छ ।

त्यसबाहेक पुरुषकै कारण महिलामा एचआईभी सर्ने गरेको पाइन्छ । खाँदै नखाएको विष पनि लाग्छ भने झैं आफूले गल्ती नगरी पनि कति महिला यसको भागीदार हुन बाध्य छन् ।

त्यसो त यौन सम्बन्धपछि यौनाङ्गको राम्ररी सरसफाइ नगर्ने जस्ता कारणले पनि समस्या निम्त्याउने गर्छ । हामीकहाँ महिलाहरु गोनोरिया, सिफिलिस्, फंगल संक्रमणले सताएपछि अस्पताल आउने गर्छन् ।

स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. बालकृष्ण शाह महिलाहरुलाई बढी सताउने यौन तथा प्रजनन् समस्या विभिन्न संक्रमणले गर्दा हुने र पुरुषको तुलनामा महिलालाई यौनजन्य संक्रमणले बढी नै सताउने बताउँछन् ।

प्रजनन् एउटा जटिल प्रक्रिया हो । यसमा महिला र पुरुष दुवैको आवश्यकता हुन्छ । तर भूमिका महिलाको बढी रहन्छ । बच्चा उत्पादनमा पुरुषले शुक्रकीट उत्पादन गर्ने र महिलाको यौनाङ्ग ९योनी०मा पुर्‍याउने मात्रै हो ।

तर महिलाले अण्डा उत्पादन मात्रै गर्दैनन्, पुरुषको शुक्रकीट लिएर पूरै भ्रुणको विकास गर्ने, बच्चालाई जन्म दिने र स्तनपान समेत गराउने हुन्छ । महिलाको भूमिका धेरै भएकाले प्रजनन अंगको संख्या र सक्रियता दुवै बढी भएकाले जोखिम पनि बढी छ ।

यौन सम्पर्कको बेला सम्भावित त्रुटिबारे छलफल गर्नुपर्छ । गर्भको योजना छैन भने यौन सम्पर्क राख्दा सजगता अपनाउनुपर्छ । विना साधन ‘ओभर कन्फिडेन्स’ हुनुहुँदैन । त्यस्तै यौनरोगबाट बच्न कण्डमको प्रयोग गर्नुपर्छ ।

नेपालमा दुवैथरीका महिला छन् । पहिलो यौन समस्याबारे अज्ञानता नभएकाले सजग नभएका र अर्को सबै जानेको र बुझेर पनि सजग नभएको । तर सजग नभए पनि यौन समस्या देखा परेपछि चिकित्सककहाँ परीक्षणका लागि आउने क्रम चाहिं बढेको छ । अहिले यौन समस्या देखापरे स्वास्थ्य उपचार खोजी गर्ने भएका छन् ।

पहिले गाँस, बास र कपास मात्रैलाई आवश्यकता ठानिन्थ्यो । अहिले गाँस, बास र कपाससँगै सहवासलाई पनि मानवीय आवश्यकताका रुपमा समाजले लिएको छ । तर सहवास सुरक्षित हुनुपर्छ, नत्र यसैको कारण स्वास्थ्य समस्या निम्त्याउने हुन्छ भन्ने सबैले बुझ्नुपर्छ ।


प्रकाशित : २०७९ मंसिर २९, बिहीबार ०२:२० गते

ताजा समाचार