काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको बताएका छन् । एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा एक वक्तव्य जारी गर्दै नेता नेपालले राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गरिएको बताए ।
‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो’, उनले भनेका छन् ।
उनले अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका मदन भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयॅा आधार निर्माण गरिको पनि स्मरण गरे ।
नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकतालाई आग्रह गरे ।