राजनीति कमाएर खाने क्षेत्र होइन, समाज र राष्ट्रको निर्माण गर्ने क्षेत्र हो । तर राजनीति धेरै मानिसहरुको कमाइखाने राम्रो र सजिलो क्षेत्र बन्दै गएको छ । यसलाई सुधार्ने कसरी ? सुधार्ने जिम्मा नेताहरुको मात्र हो कि जनताको पनि हो ? सुधार्ने अरुले नै हो कि आफूले पनि हो ? राजनीतिमा लाग्नेहरु नेताको झोले हुने हो कि देशको सेवक ? राजनीति देश लुट्ने प्लेटफर्म हो कि देश बनाउने ? यी प्रश्नहरु नेपाली राजनीतिले सिर्जना गरेका छन् । हरेकले आफ्नो स्थानबाट मात्र राम्रो गर्न सुरु गर्ने हो भने पनि थुप्रै सुधार हुनसक्दछ । यस्ता थुप्रै प्रश्नहरुमाथि काठमाडौं महानगरपालिकाका १६ नं वडाका जनप्रतिनिधि जीवन मानन्धरसँग नयाँ प्रिन्टले गरेको कुराकानीको सम्मादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
हरेक मानिसको आफू, परिवार, समाज र देशप्रतिको केही दायित्वहरु हुन्छन् । म यहीँ काठमाडौं १६ नम्बर वडामा जन्मिएँ । यहीको माटोसँग खेलेर हुर्किएँ । म आफू र परिवारप्रतिको निश्चित दायित्व पूरा गरेर राजनीतिमा देश र आफ्नो समाजका लागि केही योगदान गर्नुपर्छ भनेर आएको हुँ । मलाई राजनीतिबाट कम्तिमा पैसा कमानउनु छैन । किनभने त्यो मैले व्यवसायबाट कमाउँछु । मेरो बाबाले जमानामै कन्स्ट्रक्सनको काम सुरु गर्नुभएको थियो । हामी परिवार नै त्यही काममा लाग्दै आयौं । धेरैलाई नाम थाहा छ– महालक्ष्मी कन्स्ट्रक्सन । यो निर्माण व्यवसायमा एक ‘क’ वर्गको प्रतिष्ठित कम्पनी हो । अरु कन्स्ट्रक्सनहरुको थुप्रै कुरा सुन्नु भएकै होला । समयमा काम सकेन । काम राम्रो गरेन । राज्यलाई समयमा ट्याक्स तिरेन । यस्तै यस्तै । तर महालक्ष्मीको नाममा यस्तो कुनै कम्प्लेन सुन्नुभएको छैन होला । यो निर्माण कम्पनीमा अहिले हामी तीन दाजुभाइको साझा र समान स्वामित्व छ । स्वामित्वमा कुनै झगडा छैन । म निर्माण व्यवसायमा करिब २०३८ सालदेखि छु । मैले नेपाल निर्माण व्यवसाय महासंघमा तीन कार्यकाल कार्यसमिति सदस्य भएर काम गरेँ ।
हामी तीनभाइमध्ये परिवारकै सल्लाहमा म राजनीतिमा लागेको छु । मलाई राजनीतिमा परिवार, पार्टी, समुदाय र साथिभाइकाे साथ, सहयोग र हौसला छ । प्रेरणा छ । म जनप्रतिनिधिको उम्मेदवार हुँदा मभन्दा मेरो दाजुभाइ बढी खट्नुभयो । त्यसकारण पनि मैले राजनीतिमा केही राम्रो गर्नु नै पर्ने छ । अरु कुनै स्वार्थ छदा पनि छैन । म विद्यार्थी हुँदादेखि नै एमाले पार्टीमा सहभागी थिएँ । २०३७ सालतिर म महेन्द्र रत्न क्याम्पस, तहाचल पढ्थें । त्यतिखेरैदेखि अखिल भएर कामा गरियो । तर मेरो एमालेमा सक्रिय राजनीति २०५४ सालदेखि हो । त्यतिखेर अहिलेको पूर्वराज्यमन्त्री रामवीर मानन्धर १६ नं वडाको अध्यक्ष हुनुहुन्थ्यो । त्यतिखेर पनि एमाले फुटेको थियो । अहिले पनि एमाले फुटेको छ । तर हामी सधै एमाले नै भयौं । मेरो भनाइ के छ भने, जुन पार्टीमा लागियो सधैभरी त्यसैलाई सहयोग गर्ने र त्यसैमा बसेर राम्रो गर्ने ।
म राजनीतिमा मात्रै छैन । व्यवसायसँगै म सामाजिक काम र सामाजिक जिम्मेवारीमा पनि छु । म २०४० सालदेखि नै सामाजिक कुमारी युवा क्लवमा सल्लाहकार थिएँ । पछिल्लो दुई कार्यकाल त म आफैं अध्यक्ष नै छु । त्यसैगरी म्हैपि संरक्षण तथा व्यवस्थापन समितिको पनि म अहिले अध्यक्ष भएर काम गरिरहेको छु । आफू जन्मेको टोलको विकास कसरी गर्नेभन्ने कुरा नै मेरो लागि मुख्य कुरा हो । त्यसका लागि म आफ्नो ठाउँबाट सक्दो लागिरहेको छु । यो मेरो जिम्मेवारी पनि हो । म अहिले वडा सदस्य छु, विकासको काममा सक्दो लागेको छु ।
यदि पार्टीले विस्वास गरेर अध्यक्षकाे टिकट दियाे भने र म वडा अध्यक्ष भएँ भने, यो १६ नम्बर वडालाई नमुना वडा बनाएर देखाउने योजना बनाएको छु । यो वडाभित्र कतै पनि ढलको समस्या नहुने गरी काम गर्ने योजना छ । गल्लिगल्लिाको सबै सडक पिच गर्ने र सबै बाटोमा झलमल बत्तीको व्यवस्था गर्ने यी प्राथमिक योजना नै बन्ने छन् । त्यसैगरी पुरातात्विक ठाउँहरुको जगेर्ना गर्नु पनि वडाको नै दायित्व हो । अर्को नगरीनहुने काम हो गुठीको जग्गाको संरक्षण । गुठीको जमिन समुदायको स्वमित्वमा रहेको जमिन हो ।
आज काठमाडौंमा कतै खालि जमिन छैन । घरैघरले निसासिएको छ राजधानी । त्यसका लागि पनि र संविधानले भनेको समाजवाद उन्नमुख व्यवस्थालाई स्थापित गर्न पनि समुदायको स्वामित्वमा रहेको गुठीको जमिन मास्न दिनै हुँदैन । गुठीको जमिनमा भूमाफियाहरु प्रवेश गरिहेको छ। उनीहरुले गुठीको जग्गा नै व्यक्तिको नाममा नामसारी गर्नेजस्ता जघन्य अपराध गरिरहेका छन् । भूमाफियाबाट गुठीको जग्गा बचाउनु मेरो पहिलो प्राथमिकता रहन्छ । अहिले पनि म त्यसमा सक्दो लागिरहेकै छु । त्यसैगरी बाटोको जग्गा आफ्नो बनाउँदै सरकारी जग्गाबाट बाटो निकालेर पनि सरकारी जमिन मास्ने काम भइरहेको छ । आज काठमाडौंमा खुल्ला ठाउँ कतै छैन । हामी केटाकेटी हुँदा प्रसस्तै चङ्गा उडाउने ठाउँहरु थिए । तर अहिले त्यस्तो ठाउँ मास्सिइसकेको छ ।
१६ नम्बर वडा क्षेत्रफल, जनसंख्या, घरधुरी सबै हिसाबले सबैभन्दा ठूलो वडा हो । यो वडामा लगभग २९ हजार भेटर्स भइसकेको छ । यो नगरपालिका हुन योग्य वडा हो । यहाँ करिब ४५ हजार घरधुरी छन् । यो वडा मेयर, सांसद दुवै उम्मेदवारलाई जिताउने सन्दर्भमा निर्णायक क्षेत्र हो ।
अहिले राजनीति निकै धमिलो बन्दै गएको छ । राजनीतिमा भ्रस्टचार थेगिनसक्नु छ । यी सबै कुराबाट राजनीतिलाई बाहिर ल्याउन सक्नुपर्छ । त्यसका लागि हामी सबैको उत्तिकै भूमिका रहन्छ । म त्यही भूमिका निर्वाह गर्नुपर्छ भन्ने दायित्वबोधसहित राजनीतिमा आएको छु । भोली म यो वडाको अध्यक्ष चुनिएँ भने, पुस्तौ पुस्तासम्म वडा अध्यक्ष होस् त जीवनजस्तो भन्ने उदाहरण बन्न सकियोस् । मेरा लक्ष्य यति हो । सायद म वडा अध्यक्ष भएँ भने चोरबाटो बाट खाँदै आएका कर्मचारी चाहिँ टिक्दैनन् । म त्यसरी खानेलार्ई पुरै ब्याण्ड गर्छु । यो मेरो प्रतिज्ञा हो । किनभने मलाई यहाँबाट कमाउनु छैन । मेरो छोरो इन्जिनियर छ । बुहारी बैंकर । छोरीज्जाइँ डक्टर । दुईचारवटा घर छ । जमिन छ । मिनि मार्ट चलिरहेकै छ । मैले किन राज्यको सम्पत्तिमा र्याल चुहाउन पर्यो र । अकुत सम्पत्ति थुपारेर के नै हुन्छ र । मरेर त लाने हैन आखिर । म राज्यकाे सम्पत्तिकाे एक रुपैयाँ दुरुपयाेग नगरी राजनीतिमा समर्पित हुन याे क्षेत्रमा आएकाे हुँ ।
तर मैलै राजनीतिका दुरुपयोग गरेर नकमाए पनि धेरैले त्यो गरिहेकै छ । त्यसकारण त्यस्ता मासिनहरुलाई अब जुनसुकै पार्टीको भएपनि बहिरस्कार गर्नुपर्छ । राज्यको धन लुटेर खाने भनेको ठूलो अपराध हो । राजनीतिमा मात्रै हैन, कर्मचारीमा पनि त्यस्तै छ । सामान्य कर्मचारीले महंगो गाडी चढ्छन्, बंगला बनाएका छन् । त्यो कहाँबाट आयो ? यस्तो अपराधमाथि राज्यले निर्ममतापूर्वक कदम चाल्नै पर्दछ । र त्यस्तो व्यक्ति जो भएपनि जनताले वहिस्कार गर्नै पर्दछ भन्ने मेरो मान्यता हो । यो कुरामा सम्झौता गर्नुहुन्न । म खराब छु भने एमालेले मलाई पनि टिकट दिन हुन्न । मैले त सार्वजनिक रुपमै भनेको छु, आगामी चुनावमा चाप्लुुसी गरेकै भरमा माथिबाट टिकट दिने होइन, जनताले कसलाई चाहेको छ, त्यो हेरेर मात्र टिकट दिनुपर्छ । जनताको आकांक्षाअनुसार उम्मेदवार खडा गर्ने हो भने अर्को पार्टीका कार्यकर्ता र समर्थकले पनि खुसुस्कु भए पनि मत हाल्छ नै । कम्तिमा जीतेको उम्मेदवारले सिंगो जनताको हितलाई केन्द्रमा राखेर काम पनि गरोस् । तर अहिले त आफ्नो पार्टीको पनि आफ्नो गुटको मात्र काम गर्ने प्रवृति देशभर देखिएकै छ । यसरी त देशले कहिले प्रगति गर्नु ? जनताले कहिले सुख र समृद्धि पाउनु ? अब जनता पनि सचेत छन् ।
तर मैलै राजनीतिकाे दुरुपयोग गरेर नकमाए पनि धेरैले त्यो गरिहेकै छ । त्यसकारण त्यस्ता मासिनहरुलाई अब जुनसुकै पार्टीको भएपनि बहिरस्कार गर्नुपर्छ । राज्यको धन लुटेर खाने भनेको ठूलो अपराध हो ।
हाम्रो पूर्वमन्त्री रामवीर मानन्धर राज्यको एक रुपैयाँ पैसा नखाइ काम गर्ने जनप्रिय नेता हुनुहुन्छ । उहाँ कसैले भ्रष्टचार गरेको प्रमाणित गर्छ भने उहाँ राजनीतिबाट सन्यासल लिन तयार हुनुहुन्छ । उहाँजस्तो निश्चल र इमान्दार व्यक्तिलाई पार्टीले टिकट दियो भने एमाले एक नम्बरको पार्टी हुन्छ ।
अहिले कतिलाई लागेको छ, अब एमालेलाई जनताले पत्याउँदैन । तर अझै पनि एमालेप्रति जनताको भरोसा गुमेको छैन् । माधव नेपाललगायत केही कमरेडहरु सूर्यचिह्नबाट चुनाव जितेर अहिले अर्कै पार्टी बनाउन लाग्नुभएको छ । तर त्यो बाटोमा यहाँहरुको कुनै राजनीतिक भविस्य छैन । उहाँहरुको वास्तवमा राजनीति सकिइसकेको छ । भन्नुस् न उहाँहरु कुन मुख देखाएर आगामी चुनावमा जनतासामु भोट माग्न जानुहुन्छ ? आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाएर कांग्रेसलाई प्रधानमन्त्री बनाउन लाग्नु भनेको कतिसम्म राजनीतिक वेइमानि हो । त्यसकारण आगामी चुनावमा जनताले भरोसा गर्ने पार्टी भनेको एमाले नै हो । अहिलेको सरकार भनेको जनताको मतबाट आएको सरकार होइन । यो त अदालतको परमादेशबाट आएको सरकार हो । जनताको सरकार ढालेर अदालतले बनाएको सरकारलाई जनताले कसरी भर गर्नसक्छ । त्यसकारण बरु अझै बढी मत दिएर जनताले अब एमालेलाई एकल सरकार बनाउन सक्ने र अदालतले पनि ढाल्न नसक्ने बनाउने छन् । यसको विकल्प नै छैन यदि देशलाई समृद्ध बनाउने हो भने ।
माधब नेपालको एकीकृत समाजवादीले एमालेको मत काट्छ कि भन्ने आशंक कतिपयलाई छ । तर, मैले हेर्दा त माधब नेपाल र उहाँको पछि लाग्ने सबैको राजनीति सकिइसकेको छ । भोली उहाँहरु आउने त एमाले मै हो तर त्यतिवेला एमालेमा आउँदा हामीले जिम्मेवारी दिने कुरामा धेरै नै सोच्नुपर्दछ । भोली आएर माधब नेपालजस्तो धोकेबाजहरु अध्यक्ष बने भने हामीजस्ता कार्यकर्ता मान्न तयार छैनौं । हामीले मानिरहेकै नेता हुनुहुन्थ्यो उहाँहरु तर अब उहाँहरुले गद्दारी गरिसक्नुभएको छ । ओली कमरेडको पेलाइले गर्दा माधव नेपालले पार्टी फुटायो भनेर धेरैले भन्ने गरेका छन् । तर हारेको व्यक्तिले जितेको अध्यक्षलाई तँ अध्यक्ष छोड भन्नु मिल्छ ? अनि नपेलेर भयो । उहाँले १५ वर्ष महासचिव चलाएर के गर्नुभयो ? पार्टीलाई कुन हालतमा पुर्याउनुभयो ? यो त सबैलाई थाहै छ नि । उहाँलाई पार्टीले अवसर नदिएको होर । दुईदुई ठाउँबाट हारेको माधब नेपाललाई प्रधानमन्त्री यही एमाले पार्टीले बनाएको होइन र । त्यसकारण एमाले ढुक्कले अगाडि बढ्छ । अब झन गुटबन्दीविना एकभएर जनताका बीच एमाले जान्छ र पहिलो पार्टी भएर सरकारमा आउँछ । जनताको समृद्धिको सपना पुरा गरेरै छोड्छ । यो कुरामा आम नागरिकको भरोसा छ ।