आउनुहोस्, नयाँ अनुसन्धानसहितको ‘सोसलिस्ट डिस्कोर्श’ थालौं


आज हामी बाँचिरहेको विश्व हिजको जस्तो छैन । समाजको आधार फेरिएको छ । अर्थतन्त्रको आधार फेरिएको छ । मानिसहरुबीचको सम्बन्ध फेरिएको छ । संस्कृति फेरिएको छ । फेरिएको विश्वपरिवेशमा विश्वदृष्टिकोण पनि फेरिएको छ ।

आजको युगलाई विज्ञान–प्रविधिको युग भनेर चिनिन्छ र समाजको प्रमुख आधार विज्ञान–प्रविधि बनेको छ । यही विज्ञान–प्रविधिको आधारमा वर्तमान पुँजीवादी व्यवस्थाले आफूलाई नयाँ जीवन दिएको छ । विज्ञान–प्रविधिको अभूतपूर्व क्षमताका कारण वर्तमान युग दुर्लभताको संसारबाट प्रचुरताको संसारमा प्रवेश गरेको छ । शारिरीक र मानसिक दुवै क्षेत्रको श्रममा प्रमुख भूमिमा रहेको मासिन कृतिम बौद्धिकताका कारण विस्थापित हुने प्रक्रिया बढीरहेको छ । प्रविधिको विकास उपकरण, यन्त्र हुँदै स्वचालनमा पुगेसँगै विश्व अर्थतन्त्रमा र राजनीतिमा व्यापक फेरवदल आएको छ, जसका कारण विगतको सामाजिक र राजनीतिक परिवेशलाई हेरेर बनाइएका सम्पूर्ण विचारधारा र कार्यक्रमहरु निकम्बा सावित भइरहेका छन् । त्यसकारण समाजवादी व्यवस्था निर्माणका लागि पनि नयाँ विचारधारा, नयाँ नीति तथा कार्यक्र र रणानीतिहरु तयार गर्न आवश्यक छ। नयाँ नीति, रणनीति र कार्यक्रमहरु तयार गर्दा यहीको रैथाने ज्ञान,सीप, प्रविधिको गहन अध्ययन हुन जरुरी छ । हाम्रो पछौटे आर्थिक अवस्थाको मसिनो गरी विश्लेषण गर्दै यसलाई कसरी समृद्ध बनाउँदै जान सकिन्छ, त्यसको खोज जरुरी छ । कृषि क्षेत्रमा उत्पादन कसरी बढाउन सकिन्छ, कृषि उपजको औद्योगिकरण र बजारीकरणमा जाने बाटो के हो ? कृषि उत्पादन, औद्योगिकरण, बजारीकरण र कृषि उपजको मूल्यनिर्धारण यी चारै प्रक्रियामा सिकानको स्वामित्व कसरी सुनिश्तिन गर्ने ? पर्यटन, जडिबुटी, हाइड्रोपावर उद्योगबाट धेरैभन्दा धेरै लाभ लिने र लाभमा आम नागरिकको स्वामित्व स्थापित गर्ने नीति कसरी निर्माण गर्ने ? यी पूम्पूर्ण आर्थिक उत्पादनमा विज्ञान प्रविधिको उच्चतम प्रयोग गर्ने नीति कसरी बनाउन आवश्यक छ ।

नेपालको संविधान २०७२ ले समेत प्रस्थापनामै समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना गरेको छ । त्यसका लागि आम नागरिकलाई राजनीतिक निर्णय गर्ने अधिकार सुनिश्चित गर्नु, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र न्यायको प्रत्यभूत कसरी गराउने ? हाम्रो देशमा कस्तो र कस्का लागि समाजवाद चाहिएको हो, अर्थात् समाजवाद कुन वर्गका लागि अतिआवश्यक छ ? समाजवाद कसरी बनाउन सकिन्छ ? समाजवाद गाउँ तहबाट बुन्दै बुन्दै ल्याउने विषय हो कि सिंहदवारबाट घोषणा गर्ने विषय हो ? रोजगार र स्वरोजगारको व्यवस्थापन कसरी गर्न सकिन्छ ? कृषि उत्पादन बढाउने, कृषि उपजको प्रशोधन, औद्योगिकरण र बजार व्यवस्थापन गर्ने नीति तथा रणनीति के हुने ? कृषि उत्पादन, औद्यागिकरण र बजारी करणमा कस्तो प्रविधि आवश्यक छ ? कुन क्षेत्रमा कुन बालिलाई औद्योगिकरणमा लैजान सकिन्छ ? यसमा संघ, प्रदेश र सथाीय सरकारको भूमिका कस्तो रहने ? जस्ता थुप्रै प्रश्नहरुको जवाफ समाजवादी राजनीतिले खोज्न आवश्यक छ ।

कृषिकोे कुरा गरिरहँदा एकाथरी समाजवादीहरुको धारणा कृषि क्षेत्रलाई मास प्रोडक्सनमा लैजान पर्छ भन्ने छ । गोरु विरुथापित गरेर कृषिमा प्रविधि भित्र्याउनुपर्छ भन्ने छ । अर्कोथरीको धारणा हरेक घरमा एक करेसाबारी हुनुपर्छ, एक हल गोरु हुनुपर्छ, दुहुनो गाई हुनुपर्छ, एकैजनाले धेरै परिणाममा कामदार भर्ती गरेर गर्ने कृषिलाईभन्दा धेरै किसान मिलेर धेरै उत्पादन गर्ने नीति अख्तियार गर्नुपर्छ भन्ने छ । तेस्रो धारणा आवश्यकताअनुसार मास प्रोडक्सन पनि गर्ने र सँगसँगै हरेक किसानलाई कृषि उत्पादनमा प्रोत्सान पनि गर्ने नीति लिनुपर्छ भन्नेछ । यीमध्ये कुन नीति समाजवादी हुन्छ ? गहन बहस जरुरी छ ।

त्यसैगरी एकाथरी कम्युनिस्टहरुको धारणा सांस्कृतिक पक्ष मुख्य हो, कम्युनिस्ट संंस्कृति निर्माण नगरी समाजवादमा जान सकिन्न भन्ने धारणा छ । उनीहरुलाई माक्र्सवादी सिद्धान्त ठिक छ, त्यही सिद्धान्तबाट क्रान्ति पनि हुन्छ र समाजवाद पनि आउँछ भन्ने लाग्छ । अर्कोथरी कम्युनिष्टलाई माक्र्सवाद, लेनिनवाद र माओवादका सिद्धान्तहरु आफ्नो समयको क्रान्ति गर्न निर्माण गरिएको विचारधारा हुन् । यी विचारहरुको केही सार्वभौतिक कुराहरु छन्, जुन आज पनि त्यतिकै सही छन्, तिनीहरुलाई आत्मसात गर्दै जानुपर्छ । हाम्रो युगका ज्ञान–विज्ञानको अध्ययन–अनुसन्धान गर्दै यसमा नयाँ आयामहरु थाप्दै जानु हाम्रो दायित्व हो भन्ने धारणा छ । कुन धारणाबाट अबको समाजवादी आन्दोलन अगाडि बढ्न सक्छ ? बहस यतातिर जान सकेन भने समाजवादी आन्दोलनले नयाँ जीवन प्राप्त गर्न सक्दैन । आउनुहोस् वैज्ञानिक दृष्टिकोण निर्माणका लागि अनुसन्धानमूलक र तथ्यपरक बहसमा जुटौँ । सोसलिष्ट डिस्कोर्शमा जुटौँ ।


प्रकाशित : २०७९ फाल्गुन ५, शुक्रबार १६:४८ गते

ताजा समाचार