शुभकामना सन्देशमा प्रदेशको नामै नलेखेपछि कोशीका मुख्यमन्त्रीको आलोचना


काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना र आलोचना सँगैसँगै पाइरहेका छन्।

मुख्यमन्त्री कार्कीको आइतबार जन्मदिन परेका कारण उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालबाट उनलाई जन्मदिनको शुभकामना दिइरहँदा धेरैले उनको आलोचना पनि गरिरहेका छन्।

आलोचनाको कारण बनेको छ, उनले तमु ल्होसारका अवसरका दिएको शुभकामना सन्देश। मुख्यमन्त्रीले बिहानै सार्वजनिक गरेको शुभकामना सन्देशको लेटरहेडमा प्रदेशको नाम गायब छ।

‘विराटनगर नेपाल’ मात्रै रहेको लेटरप्याडमा प्रदेशको नाम नै गायब देखिएपछि उनी कुन प्रदेशका मुख्यमन्त्री हुन् भन्ने प्रश्न सन्जालमा ओइरियो।

प्रदेश नामकरणका बेला ‘कोशी’ का पक्षमा मतदान गरेका मुख्यमन्त्री कार्कीतिर अर्को प्रश्न पनि सोझियो, नाम फेर्नुपर्ने आवाज उठाउनेहरुलाई सम्बोधन गर्नै खोजेका हुन् ?

सामाजिक सन्जालमा यसबारे चर्को आलोचना भएपछि मुख्यमन्त्रीको सचिवालयले केहीबेरमै अर्को शुभकामना सन्देश सार्वजनिक गर्‍यो, जसको लेटरहेडमा ‘कोशी प्रदेश विराटनगर नेपाल’ लेखिएको छ।

केही समयको अन्तरमा एकै विषयमा दुईटा शुभकामना सन्देश बाहिरिएपछि अहिले मुख्यमन्त्रीको सचिवालयका कर्मचारीहरु जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्।


प्रकाशित : २०८० पुष १५, आईतवार १५:०५ गते

ताजा समाचार