![](https://nayaprint.com/wp-content/uploads/2024/02/RatnaShrestha_KTM_RSS_28_1707628240699.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल कमजोर बनाउने बताएका छन् ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै उनले त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न सतर्क हुनुपर्ने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसको सन्दर्भमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताए ।
उनले भने, ‘आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो । हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताअनुरूप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक छ ।’
राष्ट्रपति पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठूलो भ्रष्टाचारमा मुछिएकाहरू उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुनेगरी काम गर्न आग्रह गरे ।
उनले भने, ‘भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको उन्नतिमा अवरोध सिर्जना गर्नेमात्रै होइन, राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउन सक्छ । तसर्थ, भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु हो ।’
शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ, भ्रष्टाचारको सम्भावना त्यति नै कम हुने भएकाले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ठोस् कदम चाल्न आवश्यक रहेको उनले बताए ।