टीआरसीमा दुई वटा शब्दमा सहमति नभएपछि सरकारले माग्यो समय


काठमाडौं । संसदीय समितिमा अन्तिम चरणको छलफलमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका दुई वटा शब्दमा सहमति जुट्न नसकेपछि कानून मन्त्रीले भोलि बिहानसम्मको समय माग गरेका छन् ।

प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा आइतवार भएको छलफलमा कानून मन्त्री धनराज गुरुङले भोलि (सोमवार बिहान)सम्मको समय माग गरेका हुन् ।

सरकारले संशोधन गरेर ल्याएको विधेयकको मस्यौदा आउँदो बैठकमा पेस र पारित गरिने समितिका सभापति विमला सुवेदीले जानकारी दिइन् ।

दुई विषयमा थप समय आवश्यक परेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा बताए । “पीडितको सहमति स्वतन्त्र सहमति नभए के गर्ने भन्ने र घटी सजायको कुरा छ । कति घटी गर्नेमा प्रतिशत तोक्ने कुरा भएको छ, कति तोक्ने ? यो दुई विषयले समय माग्यो, अरू विषय मिल्यो,” उनले भने ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सो विषय टुंगो लगाउन आफूहरू सकारात्मक भएको बताए । “सरकारले समय माग्नु राम्रो हो । छलफल गरौँ । एमाले सकारात्मक छ,” बर्तौलाले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन दलहरू निकै नजिक पुगेका नेताहरूको भनाइ छ ।


प्रकाशित : २०८० फाल्गुन २०, आईतवार १६:२५ गते

ताजा समाचार