
काठमाडाैँ । एक वर्षमा तीनपटक सत्ता समीकरण बदलेर आलोचित हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को परिवर्तनको संकेत गरेका छन।
पदमात्रै ओगटेर बस्ने मनसायमा आफू नरहेको प्रष्ट पार्दै उनले जुनसुकै बेला समीकरण परिवर्तन हुनसक्ने सम्भावनाको संकेत दिएका छन । आज राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको पनि बताए।
‘मैले भन्ने गरेको छु–कामै गर्न नसकिने भयो भने, नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले जनतालाई पनि भनेको छु’, उनले भने, ‘मैले अहिले पनि पदको सुरक्षाका लागि समीकरण अर्को बनाएको होइन । पद त मेरो सुरक्षित नै थियो ।’
मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यले आफूले नयाँ समीकरण बनाएको उल्लेख गर्दै काम गर्न नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने प्रधानमन्त्रीको भनाई छ । यसअघि काँग्रेससँगको गठबन्धन छाडेर एमालेसँग समीकरण बनाउने आफ्नो निर्णयको चर्को आलोचना हुँदा उनले आफू बाँचुञ्जेल उथलपुथल भइरहने बताएका थिए ।
कामै गर्न नसकिने स्थितिमा पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यसअघि सार्वजनिक रुपमै भनेको प्रधानमन्त्री प्रचण्डले स्मरण गराए । अझै पनि काम गर्न सकिने सम्भावना देखेर आफू प्रधानमन्त्री रहेको जनाउँदै उनले अन्यथा पद ओगट्नुको औचित्य पुष्टि नहुने स्पष्ट पारे ।
त्यसअघि समीकरण बदल्ने प्रधानमन्त्रीको निर्णयलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीले उथलपुथलकारी कदमका रुपमा टिप्पणी गरेका थिए । जवाफमा प्रधानमन्त्रीले भने, ‘हुनत अहिले समीकरण चेन्ज गरेर हाम्रो मुख्यमन्त्रीजीले उथलपुथलकारी काम भनिदिए । उथलपुथल त पहिल्यै भनेको थिएँ । म के भन्छु भने साँच्चै यी कुनैपनि काम अघि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो मैले अरुलाई भनेको होइन है । त्यो मेरै लागि भनेको हो ।’