
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सिमानामा रहेका १४ वटा परम्परागत सिमा नाका खोल्न चीन सहमत रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चैत ११ गतेदेखि १९ गतेसम्म चीन भ्रमण गरेका थिए । उनले आफ्नो चीन भ्रमण सफल भएको भन्दै दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउँने आर्थिक विकास र समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल गरेको बैठकमा जानकारी गराए ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताहरुसँग छलफल गरेको बताउँदै मन्त्री श्रेष्ठले नेपाल–चीन विविध आयामबारे चिनियाँ नेतासँग छलफल गरेको बताउँदै द्धिपक्षीय हितका विषयमा गहन छलफल भएको उल्लेख गरे ।
रसुवागढी नाका, तातोपानी नाका, कोराला नाका यसअघि नै सञ्चालनमा आएका र कोभिड अगाडि सञ्चालनमा रहेको १४ वटा परम्परागत नाका खोल्न चीन तयार भएको मन्त्री श्रेष्ठले दावी गरे । यसबाट चीनको सिमानजिक बस्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यावसाय सहज हुने अपेक्षा रहेको उनले बताए ।
प्रधानमन्त्री चीन भ्रमणमा गएका बेलापनि क्रमश सिमानाका क्रमश खोल्दै जाने सहमति भएको मन्त्री श्रेष्ठले बताउँदै ती नाका नखुलेको सन्र्दभमा गम्भीर छलफल गरेर १४ वटा नाका खुलाउन सहमति भएको र तत्काल ब्यवहारमा देखिनेमा आफू विश्वस्त रहेको बताए ।
‘नेपाल चीनबिच विद्यमान मैत्री सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल चीन बीचमा परराष्ट्रमन्त्री स्तरमा एउटा संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छौँ’ मन्त्री श्रेष्ठले भने, ‘यस्तै मन्त्रीस्तरको यस्तो आयोग भारतसँग पनि रहेको छ । बिआरआई परियोजनालाई अन्तिम रुप दिनेबारे छलफल भएको छ ।’