काठमाडौं । सर्वोच्च अदालतले भ्रूण र नवजात शिशु हत्यामा संलग्न आमाहरुका सम्बन्धमा नयाँ नजिर स्थापना गरेको छ ।
आमाहरु नै नवजात शिशुहरुको हत्यामा संलग्न भएको घटनालाई अपराधको रुपमा हेर्न नहुने भन्दै सर्वोच्च अदालतको संयुक्त इजलासले न्यून सजाय गर्ने व्यवस्थालाई गम्भीरतापूर्वक हेरिनुपर्ने फैसला गरेको हो ।
असुरक्षित शारीरिक सम्बन्धबाट जन्मिएको शिशुको हत्यामा संलग्न पर्वतको कुस्मा–१ निवासी १७ वर्षीय एक किशोरीको मुद्दामा सर्वोच्चले त्यसको सामाजिक परिवेश र अरु परिस्थितिको पनि आँकलन गर्नुपर्ने व्याख्या गरेको छ ।
जन्मकैदको सजाय पाएकी ती किशोरीलाई २ वर्षमात्रै कैद सजाय गर्दा ‘कानुनको उद्देश्य पूरा हुने’ सर्वोच्चको ठहर छ । घटनामा जोडिएका पुरुषलाई पनि सर्वोच्च अदालतले २ वर्ष नै कैद सजाय तोकेको छ ।
सर्वोच्च अदालतले नवजात शिशुको जन्म र त्यसको परिवेश तथा कसुर गर्ने महिलाको जीवन, स्वास्थ्य तथा प्रजनन हकसँगै कसुरजन्य कार्यलाई उदारतापूर्वक हेर्नुपर्ने व्याख्या गरेको छ ।
‘जातक हत्यालाई कसूरजन्य रुपमा सजाय गर्दा भ्रूणको निरन्तरता अन्तर्गत महिला स्वतन्त्रता, समाजिक परिवेश र प्रजनन हकको सन्तुलनमा हेरी न्यूनतम सजाय गर्दा पनि कानूनको उद्देश्य पूरा हुने नै देखिन्छ,’ सर्वोच्चको फैसलामा भनिएको छ ।
अविवाहित किशोरी आमा बन्दा सम्बन्धित पुरुष गैरजिम्मेवार बन्ने, समाजमा तिरस्कृत हुनुपर्ने, लोकलज्जा लगायतका कारण अविवाहित र विवाहित भएपनि बच्चा जन्मनासाथ लुकाउने, छाड्ने र मारिहाल्ने अवस्था सिर्जना हुने हुन्छ ।
सर्वोच्च अदालतले यस्तै परिस्थितिको लेखाजोखा र विश्लेषण गरेर उनीहरुलाई कसुर तोक्नुपर्ने औंल्याएको हो । सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘यस्तो परिस्थितिमा परेका महिलाहरूले गरेको ज्यानसम्बन्धी कार्य कसुरको रूपमा मानिने भए तापनि यथासम्भव मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने र कम उमेर समूहका महिला भए उनीहरूको विकासशील अवस्थालाई मध्यनजर गरिनुपर्ने हुन्छ ।’
एउटा परिस्थितिमा गरेको अपराधजन्य कामका कारणले उनीहरुलाई कारागारमा राख्दा खतरनाक कसुरदार(कैदी)हरुसँग संगत भई सामाजिक पुनर्स्थापना समस्या हुनसक्ने फैसलाको विश्लेषण छ ।
कुस्मा–१ निवासी १७ वर्षीया गण्डकी (परिवर्तित नाम)ले १५ भदौ २०७४ मा आफूले जन्माएको नवजात शिशुको तत्काल हत्या गरेर शव करेसाबारीमा फालेकी थिइन् । प्रहरीले अनुसन्धान गर्दा शिशु हत्यामा संलग्नता भेटिएपछि उनलाई पक्राउ गरेको थियो ।
७ कक्षामा पढ्दै गरेकी उनी पक्राउ पर्दा १७ वर्षकी मात्रै थिइन् । छिमेकी २५ वर्षीय एक दलित युवकसँगको सम्बन्धका कारण उनीबाट शिशु जन्मिएको र सामाजिक लान्छनाका डरले शिशु मारेर फालेको स्विकार गरेकी थिइन् ।
प्रहरीले दुवैजनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । उनले बयानमा ‘यथार्थ अवस्था बताए जे पनि गर्छु भनेर धम्क्याएकाले आपसी सल्लाहमा शिशु मारेर फालेको’ बताएकी थिइन् । जिल्ला अदालत पर्वतले २२ जेठ २०७५ मा दुवै जनालाई शिशु हत्यामा दोषी ठहर गरी जन्मकैदको फैसला गरेको थियो ।