प्रधानमन्त्री निवासमा कार्यदलसहित सत्ता पक्ष र विपक्षको संयुक्त बैठक जारी


सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक शुरू भएको छ ।

सोमबार बिहान बालुवाटारमा शुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले, माओवादी र रास्वपाका नेताहरू सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार सहभागी छन् ।

एमालेबाट कानूनमन्त्री पदम गिरी र महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन र हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले र सन्तोष परियारलगायत छन् ।

शीर्षसहित कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ ।

यसअघि कार्यादेशका विषयमा सत्ता र प्रतिपक्षीबीच कुरा मिल्न सकेको छैन ।

कांग्रेसले समिति गठन गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पनि उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ । तर, लामिछानेको नाम उल्लेख नगरी समिति बनाउनुपर्ने सत्ता पक्षको भनाइ छ ।

सहकारी प्रकरणमा संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि सदनमा आवाज उठाए पनि सरकारले बेवास्ता गरेपछि कांग्रेसले सडक संघर्षसमेत शुरू गरिसकेको छ ।


प्रकाशित : २०८१ जेष्ठ १४, सोमबार १०:३७ गते

ताजा समाचार