आईसीसी टी- २० विश्वकपमा नेदरल्यान्ड्ससँग मैदानमा उत्रनुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारको दर्शन गरेको छ ।
नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारमा पूजा आराधनामा सामेल भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज नेदरल्याण्डसँग विश्वकप २०२४ को आफ्नो खेल खेल्दै छ ।
‘खेलाडीहरूले खेलेर उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने हो । उच्च मनोबलका साथ खेल्नुस् भनेका छौँ । सब खेलाडी उत्साहित हुनुहुन्छ । टीयूकै झल्को दिने गरी दर्शकहरूको उपस्थिति हुनेछ,’ चन्दले भने ।
खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरु हुनेछ । पूजाआजपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सम्पूर्ण रूपमा नेपालले राम्रो तयारी गरिरहेको बताए । नेपालले वेस्टइन्डिज र अमेरिकामा गरी करिब एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको उनको भनाइ छ ।
सन् २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको चन्दको भनाइ छ । खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने उनले बताए ।
‘तयारीको हिसाबले हामी राम्रो तयारी गरेका छौँ । टिम एकदम उत्साहित छ । मलाई लाग्छ, अब एक महिनाको तयारी छ । रिजल्ट राम्रै दिन्छ भन्ने छ । २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी छ । त्यो बेलामा यस्तो खालको तयारी कम हुने गर्दथ्यो । अहिलेको टिमले पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा छ,’ चन्दले भने ।
उनले खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडीहरू उत्साहित रहेको बताए । दर्शकको उपस्थिति पनि बाक्लो रहने उनको भनाइ छ ।