बागमतीमा आज जम्कट्टेलको सरकार ढल्दै, बहादुरसिंह नयाँ मुख्यमन्त्री बन्ने पक्का


काठमाडाैं । बागमती प्रदेश संसदीय दलको नेताको चुनावदेखि नै दुई पक्षको खिचातानी रहेको नेपाली कांग्रेसले बहादुरसिंह लामालाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

हेटौँडामा आइतबार बिहान बनेको कांग्रेस संसदीय दलको बैठकले लामालाई सर्वसम्मत अघि सार्ने निर्णय गरेको हो ।

बागमतीका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले आइतबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । दुई ठूला दल कांग्रेस र एमालेले केन्द्रीय गठबन्धन बनाएपछि माओवादी केन्द्रका जम्कट्टेल स्वतः अल्पमतमा परेका छन् । त्यसैले उनको सरकार ढल्ने निश्चित भएसँगै नयाँ मुख्यमन्त्री को हुने भन्ने चासो बढेको छ ।

मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँले पनि आकांक्षा राखेका थिए । संविधानको धारा १६८ (२) अनुसार, सरकारमा दाबी गर्दा संसदीय दलको नेता नै हुनुपर्ने बाध्यता छैन । त्यसैले बानियाँ र लामा पार्टी सभापति शेरबहादुर देउवाको सिग्नल पर्खेर बसेका थिए । देउवाले लामालाई मुख्यमन्त्री बनाउन सन्देश पठाएपछि संसदीय दलको बैठकले सर्वसम्मत अघि सार्ने निर्णय लिएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत नपाएर बागमती सरकार ढल्नासाथ एमालेको समर्थन लिएर लामाले आइतबार नै दाबी गर्ने तयारी कांग्रेसको छ । प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गर्नासाथ लामालाई मुख्यमन्त्री बनाउन कांग्रेस र एमालेले दाबी गर्ने तयारी रहेको ती दलका नेताहरू बताउँछन् ।


प्रकाशित : २०८१ श्रावण ६, आईतवार १३:०९ गते

ताजा समाचार