हमासका प्रमुख इस्माइल हनियाको इरानमा हत्या


तेहरान ।  हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ ।

बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनलाई मारेको जनाएको छ । यसबारेमा इजरायलका तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।

हमासका अनुसार हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा भाग लिन तेहरान गएका थिए । उनी कतारमा बस्दै आएका थिए ।

इरानको इस्लामिक रिभोलस्नरी गार्डका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । हानिया मारिएको पुष्टि इरानका सञ्चार माध्यमले पनि गरेका छन् । इस्माइल हानिया हमासका पोलिटब्युरोका प्रमुख थिए ।

उनी प्यालेस्टाइन प्राधिकरणका दशौं सरकारका प्रधानमन्त्री पनि हुन् । उनको उपनाम अबू अल अब्द हो । उनको जन्म प्यालेस्टाइन शरणार्थी शिविरमा भएको थियो ।

उनलाई इजरायलले १९८९मा तीन वर्ष कैद गरेको थियो । अमेरिकी विदेश विभागले सन् २०१८मा उनलाई आतंकवादी घोषणा गरेको थियो ।


प्रकाशित : २०८१ श्रावण १६, बुधबार ११:४३ गते

ताजा समाचार