काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जटिल कामहरू नेपालका राजनीतिक दलहरू आफैँ सम्पन्न गर्न सक्षम रहेका बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले संसद्मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले त्यसलाई सिद्ध गरेको बताए ।
‘जटिल कामलाई नेपाली राजनीतिक दलहरू आफैँ सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न वर्तमान संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको छ,’ देउवाले भने ।
उनले समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई दलहरुले विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेको बताए । सभापति देउवाले यसलाई एउटा ऐतिहासिक उपलब्धिको घडी भएको पनि बताए ।
‘हामीले समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेका छौँ । त्यसमा आज हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू एकैस्वरमा सर्वसम्मतिसहित उपस्थित भएका छौँ,’ उनले भने, ‘यो आफैँमा एउटा ऐतिहासिक उपलब्धिको घडी हो ।’
उनले नेपालले शान्ति प्रक्रियामा अविलम्बन गरेको नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको पनि दाबी गरेका छन् ।