‘म भैरवनाथ गणको २२ नम्बर बन्दी’


नेपालको जनयुद्धबारे सकारात्मक र नकारात्मक बहस अझै चलिरहेकै छ । जनयुद्धमा लागेका योद्धाहरुलाई तत्कालिन शाही सत्ताले गरेको दमनको कथा जति लेखे पनि अधुरै हुन्छ । सम्पूर्ण जनयुद्धको अवधिमा राज्य तर्फबाट माओवादीमाथि गरिएको दमन र हत्यामा सबैभन्दा कठोर मानिएको यातना गृह हो भैरवनाथ गण । हामीले भैरव नाथ गणको इन्साइट स्टोरी तयार पार्ने कोशिस गरेका छौं । भैरवनाथ गणमा तत्कालिन माओवादीका आस्थाका बन्दीहरुमाथि सेनाले गरेको अत्याचार कतिसम्म डरलाग्दो थियो भन्नेबारे त्यहाँ यातना भोगेर संयोगले बाँचेका एक ज्युँदा सहिद, अखिल (क्रान्तिकारी)का पूर्व महासचिव तथा नेकपाका प्रदेश सदस्य विरेन्द्र वस्नेतले यसरी स्मरण गर्नुभएको छ । (यो सामग्री राजकुमार श्रेष्ठले तयार पार्नुभएको हो ।)

भैरवनाथ गणको यातना गृह हिटलरको ग्यास च्याम्वरभन्दा कम थिएन । त्यो यति निकृष्ट थियो कि जति भत्र्सना गरेपनि कमै हुन्छ । यहुदीहरुलाई हिटलरको ग्यास च्याम्वरभित्र हालेर मारिन्थ्यो । त्यहाँ पनि मर्न सजिलो त अवश्य थिएन । तर, एकैछिनको कष्टमा यहुदीहरु ग्यास च्याम्बरभित्र मर्थे । भैरवनाथ गणमा माओवादी जनयुद्धका आस्थाका बन्दीहरुलाई हरेक क्षण मारिन्थ्यो । वेहोस हुनेगरी असह्य यातना दिइन्थ्यो । भैरवनाथ गण कहालिलाग्दो यातना गृह थियो । मानव बधशाला थियो ।

भैरवनाथका बन्दीहरुलाई ड्याम्म छातिमा गोली थापेर मर्ने सौभाग्य थिएन । यहाँ त मृत्युभन्दा कठिन यातनाको सामना गर्नुपथ्र्यो । शाहि सेनाले हामीलाई दिएको यातना हेर्न नसकेर केही दयालु जवानहरुले जागिरै छाडेर भागेका थिए ।

अन्धकारमा वितेका १९ महिना २० दिन

२०५९/२०६० को वार्ता असफल भएपछि युद्ध अझै भयानक भएर गयो । युद्ध विराम भंग भए लगत्तै म पुनः गिरफ्तारीमा परे । त्यो मेरो तेस्रो गिरफ्तारी थियो । यो गिरफ्तारी मेरो लागि निकै भयानक भयो । म कपनबाट गिरफ्तारिमा परेको थिएँ । मलाई हातमा हतकडी, आँखामा कालो पट्टी र खुट्टामा नेलसहित भैरवनाथ गणमा लग्यो ।

भैरवनाथका हरेक दिन असह्य यातनाबाट वित्यो । कहिले कहीँ त यति धेरै यातना दिइन्थ्यो कि सहन नसकेर वेहोस भइन्थ्यो । हरेक दिन जस्तो कोहि न कोहि बन्दी कमरेडहरु शिवपुरीमा लगेर मारिन्थे । हरेक क्षण मृत्युको पर्खाइमा वित्थ्यो । भैरवनाथबाट बाँचेर फर्किन पाइन्छ भन्ने कत्तिपनि लाग्दैन थियो । तर यस्तो अवस्थामा पनि निरास भने कहिल्यै भइएन । हामी एउटा इतिहास लेख्दै छौं भन्ने विस्वास थियो । हामी एउटा सुन्दर विहानीको पर्खाइमा थियौं । जब मानिसलाई आफ्नो कामप्रति सन्तुष्टि हुन्छ, कुनै पनि कठिनालाई सामना गर्न गाह्रो नपर्दो रहेछ । अहिले सोच्दा त मानिसहरुलाई आश्चर्य लाग्छ । मलाई पनि आश्चर्य लाग्छ । धेरैले यो कुरा बुझेको छ जस्तो पनि लाग्दैन । भैरवनाथ गणको कुरा बाहिर त्यति चर्चा भएको पनि छैन् ।

जनयुद्धलाई अन्डर इस्टीमेट गर्ने मित्रहरुलाई भन्नु त केही छैन् । यो एउटा निर्मम इतिहास हो । कसैलाई मन नपर्दैमा यसको ओज कमजोर हुँदैन । मानव इतिहासमै मुक्तिका लागि गरिएको असाधारण बलिदानको इतिहास हो । तर त्यसलाई त्यतिवेलैको चेतनाले हेरियो भने मात्रै जनयुद्ध के हो भनेर बुझ्न सकिन्छ ।

भैरवनाथमा वस्ने क्रममा कतिवय सेनाका साथिहरुले सहयोग पनि गर्नुभयो । हामी जतिपनि भैरवनाथबाट बाँचेर फकिएका थियौं, तिनै साथिहरुको सहयोगकै कारण थियो । उहाँहरुकै सहयोगमा रेडक्रस, मानवअधिकारलाई हामी भैरवनाथ गणमा भएको समाचार पुगेको थियो । हामीले त्यहि भित्रका सिपाहीहरुलाई कन्भिन्स गरेर विभन्न मानव अधिकारवादी संस्थाहरुलाई चिठी पठाउन नसकिएको भए पनि हामी जति बाँचेका थियौं कोही पनि बाँच्ने संभावना नै थिएन । अरु धेरै साथिहरु त मारिनुभयो । तर हामी १८ जना जति साथिहरु चाहीँ बाँच्न सफल भयौं । हाम्रो जीवन रक्षा भयो ।

मार्न नखोजेको कहाँ हो र । एक दिन शिवपुरी पनि लगेका थिए । त्यहाँबाट जति पनि मानिस मार्नु पर्यो भने शिवपुरी डाडाँ लगिन्थ्यो । शिवपुरीमा मार्न लगिएका कोही पनि फर्किएका थिएनन् । तर संयोग भनौं हाम्रो टिमलाई मार्न लगेर पनि जिवित फर्कियो । त्यो कुनै हामीलाई मार्न लगेकाहरुको दयाले बाँचिएको थिएन । मानवअधिकारसम्म पुगेको सुचनाका कारण मार्न सकेका थिएनन् । त्यसपछि भर्खर गिरफ्तार गरेको भन्ने बनाएर हामीलाई नख्खु कारागार पठायो ।

उन्नाइस महिना २० दिनसम्म भैरवनाथ गणमा विताएका सम्पूर्ण क्षणहरु सम्झदा पनि निकै कष्टपूर्ण लाग्छ । नख्खु जेल लगेपछि १९ महिना २० दिनपछि पहिलो पटक आँखाको पट्टि खोलिएको थियो । त्यो क्षणको खुसी शब्दमा लेख्न सकिंदैन । मानिसहरु जेल जाँदा रुदै जादा रैछन् । तर हामीलाई भने जेल पुर्नजन्मजस्तो थियो । नख्खुमा अन्य साथिहरु पनि भेटिए । हामी त दुई रात खुसीले निदाउन पनि सकेनौं । मानसिक अवस्था त निकै तगडा थियो । तर भैरवनाथको यातनाले दुई खुट्टा टेकेर उभिन पनि सकिने स्थिति थिएन । उत्तम अधिकारी र दिपक देवकोटा लगायतका साथिहरुले प्रेमपूर्वक हेरविचार गर्नुभयो । अहिले फर्केर हेर्दा ती दिनहरु यहि जिन्दगीले भोगेको हो र ? त्यो त अर्कै जुनीमा भोगिएको इतिहास हो नी जस्तो लाग्छ ।

त्यो उन्नाइस महिनाको बीचमा फेरि यो आकास देखिन पाइएला भन्ने कल्पना नै गरिएको थिएन । तथापी मैले हिम्मत हारेको पनि थिइन । मान्छे हो जन्मे पनि एक पटक मर्नै पर्छ । मृत्युले पनि एउटा सार्थकता प्राप्त गर्छ भन्ने लाग्थ्यो त्यतिवेला । त्यसरी नै आफैलाई आफैले सम्झाउने गर्ने गरिन्थ्यो । कहिले कहि राम्रा सिपाही ड्युटि परेका वेला साथिहरुसँग गफ गर्न पनि पाइन्थ्यो । आँखामा पट्टि बाधिएकै हुन्थ्यो । साउतीको स्वरमा । साथिहरु निरास नहोउन भनेर म जोक्स र उखान सुनाउथे । कहिले कही त्यही कुरा घतक पनि हुन्थ्यो । जोक्स भनेकै कारण पनि कुटाइ खाइयो ।

हातमा हत्कडी छ । आँखामा पट्टि छ । खुट्टामा नेल ठोकिएको छ । कतिवेला मार्ने हो केही थाहा छैन् । एक दुई दिन भए पो झोक्राएर बस्नु । मैना र वर्ष वितिसक्यो । यातनाको त कुरै नगरौं । मानौं अनगिन्ती । हात उल्टो फर्काएर वाधिएको हुन्थ्यो आखादेखी घाटीसम्म छोप्ने कालोपट्टी । खानाखाने वेला हात खोलीदिन्थे । भोक धेरै, खाना अलीकति । त्यस्तै हुँदो हो ५, ६ गाँस । भातसँग दालको पानी दिन्थे । शाही सेनाको यातनामा भोकको यातना पनि सामना गर्नै पथ्र्यो ।

दिशापिसाप लागेका वेला टवाइलेट जान नपाइने । उनीहरुलाई मन लागेको वेला कुर्नुपर्ने । धेरैपटक कपडामै दिशापिसाव हुन्थ्यो । त्यही दिशापिसावकै कपडामा सुतिन्थ्यो ।

म भैरवनाथ गणको २२ नम्बर कैदी

भैरवनाथमा रहदा कान्छा भाई धिरेन्द्रको भने सारै माया लाग्थ्यो । मर्नु अघि एक पटक आमाबा भेट्न र देख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । जेलमा आमावुवाको यादले धेरै नै पिरोल्थ्यो । मलाई बाँचेर फेरी यो रंगीन दुनियाँमा फर्कीने कल्पनासम्म थिएन ।

एक दिनको कुरा थियो । एक्कासी कोही चिच्याएको आवाज सुनियो । यो चिच्याहट धेरै बेर आइ रह्यो । लाग्यो कोहि नयाँ मान्छे ल्याए राक्षेसहरुले । त्यत्तीवेलै एकजना जवान आएर सोधे– पुष्प वस्नेतलाई चिन्छस् ? मैले भने उहाँ मेरो दाई । त्यो चिच्याएको आवाज मेरै पुष्प दाई रहेछ । केही समयपछि एकजना अफिसर भित्र आयो । हिरासतमा हामीलाई नाम होइन नम्बरबाट वोलाइन्थ्यो । भैरवनाथ गणको म २२ नम्बरको बन्दी । मलाई कोठाबाट बाहीर निकालेर याताना दिने कक्षमा लगियो । आखाको पट्टी खोलेर हेरें । मेरो दाईलाई कुटीकुटी भुईमा लडाइएको रहेछ । मलाई अफिसरले सोधे, चिन्छस् ? मैले भने चिन्छु । त्यसपछि मलाई पनि पानी भएको ड्रममा टाउको चोप्न थालीयो । गोप्य कुरा खोल भन्दै । खासमा मलाई यातना दिएर उनीहरु दाईबाट माओवादीको बारेमा जान्न चाहान्थे । तर दाईले बताउनुभएन । वरु मारीदे भन्नुभयो । एक गोली खर्च गरेर मारिदे मलाई । दाईले त्यत्तीवेला त्यसो भनेको धेरै याद आउँछ ।

दाईलाई केही दिनपछी एक पटक शौचालय मा भेट भयो । कहिलेकाही एकैपटक धेरैलाई लैजान्थे । उहाँका हातका सबै औलाहरु आल्पिन रोपिएर सुनिएका थिए । पिप बगिरहेको थियो । हामीले अंकमाल गर्यौ । दाईसँगको त्यही अंकमाल अन्तिम अंकमाल भईदिएछ । दाईको सट ढाडमा टाँसिएको थियो । डाढमा पुरै पिप बगिरहेको थियो । यो दृश्य मेरो मानसपटलमा संधै घुमिरहन्छ । क्रान्ति साँच्चै निर्मम हुने रैछ ।

उसले भनेको सत्य लागिरहेको छ…

केहीदिन मात्रै वितेको थियो । म खाना खादै थिए । एकजना आर्मीको जवान आएर भने–‘ए आज छाक छोड्दैनस ।’ मैले किन भनेर सोधे । उसले भन्यो–‘आज तेरो दाई र भाइलाई त सिध्याइदियौ नी । अब तेरो पालो । मलाई विश्वास लागेन । किनकी उनिहरुले बेलाबेला मानसिक टर्चर दिन त्यसो गरिरहन्थे । तर त्यसपछि दाई र भाई कहिल्यै फर्किनु भएन । हामी उहाँहरुलाई वेपत्ता भन्छौं । सधैका लागि वेपत्ता । मेरो दाई र भाईजस्ता हजारौं वेपत्ता भएर आएको हो यो गणतन्त्र । दशौं हजार सहिद भए । वेहिसाव योद्धाहरु घाइते छन्, र कष्टपूर्ण जीवन बाँचिरहेका छन् । दुःखको कुरा जसले बलिदान गरेर यो परिवर्तन ल्यायो, उनीहरुले केही पाएनन् । गुमाउनका लागि केही बाँकी छैन, चोटपूर्ण जीवन बाहेक । न राज्यबाट सम्मान, न समाजको माया । उनीहरुको न्यायका लागि मेरो राजनीतिक लडाइँ जारी रहने छ ।


प्रकाशित : २०७८ श्रावण ४, सोमबार १६:२९ गते

ताजा समाचार