जोड-घटाउको राजनीतिः गण्डकी प्रदेशमा बन्न सकेन नयाँ सरकार


गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तीनमध्ये दुई सांसदले पार्टीको निर्णयलाई नै चुनौती दिँदै विद्रोह गरेपछि नयाँ सरकार गठनको प्रयास विफल भएको छ ।

प्रदेशसभाको अंक गणितमा बहुमत जुटाउनका लागि राष्ट्रिय जनमोर्चाको मत निर्णायक हुन्छ । एमाले नेतृत्वमा सरकार बनाउन होस् वा एमाले बाहेकका दल मिलेर सरकार बनाउन होस्, आवश्यक बहुमतको आँकडा पार गर्नका लागि राष्ट्रिय जनमोर्चाको समर्थन अनिवार्य देखिन्छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामासँगै प्रदेश प्रमुखले दलहरूलाई तीन दिनभित्र बहुमत जुटाएर सरकार गठनका लागि आउन दिएको समयसीमा बुधबार समाप्त हुँदैछ । काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकार बनाउन प्रयास भए पनि जनमोर्चाका दुई सांसदले एमाले बाहेकको सरकारलाई समर्थन गर्ने नैतिकता आफूहरुसँग नरहेको जिकिरसहित पार्टी निर्णयलाई नै अस्वीकार गरेपछि निर्धारित समयभित्र दलहरुले बहुमत जुटाउन नसकेका हुन् ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले काँग्रेस नेतृत्वको गठबन्धनलाई कुनै पनि हालतमा सहयोग नगर्ने अडान लिएका छन् । यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेकै दिन जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएका थिए । सोही दिन साँझ उनी अस्पतालमा भर्ना भएको अवस्थामा फेला परेका थिए ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले दुई वा दुईभन्दा बढी दलको सहमतिमा नयाँ सरकार गठनका लागि तोकेको तीन दिनको समयसीमा बुधबार ४ बजे सकिँदैछ । काँग्रेस नेतृत्वको गठबन्धनले बहुमत जुटाउन सफलता नपाएको अवस्थामा पुनः पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री बन्ने बाटो खुला हुने छ ।

 


प्रकाशित : २०७८ बैशाख २९, बुधबार ०६:१९ गते

ताजा समाचार